(बाल मनोवैज्ञानिक कथा) रहरमानकाे अठाेट
(बाल मनोवैज्ञानिक कथा)
रहरमानकाे अठाेट
सरण राई
रमाइलो गाउँ ! थोरै मानिसहरूको बसोबासो भएकाले सबैले सबैलाई चिन्छन् । गाउँभरिका सबै एउटै परिवार फूलको मालाझैँ आत्मीयता, अपनत्व र सदभावको डोरीमा उनिएका छन् ।
त्यस गाउँको रहरमानलाई मिहिनेती, अनुशासित र आज्ञाकारी भएकाले सबैले मन पराउँथे । ऊ बिहान बेलुकी घरको काम गरेर आमाबुबालाई सघाउँथ्यो । आफ्नो र छिमेकका ससाना भाइबहिनीलाई पढ्न लेख्न सिकाउँथ्यो । असल मानिस बन्न प्रेरित गर्दथ्यो ।
ऊ शिशु कक्षाको परीक्षामा पहिलो भयो । त्यसपछि एक, दुई र तीन कक्षाको परीक्षामा पनि पहिलो भयो । कक्षाकै जेहेनदार विद्यार्थी भएकाले साथीहरूले उसलाई आदर भावले हेर्थे र श्रद्धा गर्थे । ऊ पनि घमन्ड नगरी आफ्ना सहपाठीहरूलाई पढाइमा मदत गर्दथ्यो ।
विद्यालयदेखि वडा, पालिका र जिल्लास्तरीय हाजिरीजबाफमा रहरमान सहभागी हुन्थ्यो र कुनै न कुनै पुरस्कार पाउँथ्यो । पढाइका साथसाथै अतिरिक्त क्रियाकलापप्रतिको मोहले ऊ सबैका आँखाको नानी बनेको थियो ।
रहरमान गाउँका ठुला मान्छेहरूलाई आदर गथ्र्यो । साइनोअनुसार सेवाढोग वा नमस्कार गथ्र्यो । घर र छरछिमेकीमा आफूले सक्ने काम सघाउँथ्यो । आफूभन्दा सानालाई माया गथ्र्यो । उसका बाआमा, छरछिमेकी र साथीभाइ पनि उसको असल व्यवहारको खुलेरै प्रशंसा गर्थे ।
रहरमानलाई जहाँ गए पनि साना भाइबहिनी र सहपाठीले पछ्याउँथे । बनजङ्गल, खेतबारी, खोलादह जतापनि गाउँभरिका साथीहरू सँगसँगै हुन्थे । ऊ सानासँग डण्डीबियो, ओहोरीदोहोरी, गट्टी र अन्य खेल खेल्थ्यो । दौँतेरीहरूसँग पौडी खेल्थ्यो र पौडी नजान्नेलाई मुढा समाएर पौडी खेल्न सिकाउँथ्यो । यसरी ऊ मौरीको रानीझैँ सबैको केन्द्रबिन्दु भएको थियो ।
ऊ बाख्रा र ससाना पाठापाठीलाई हरियो सेउली घाँस झारेर खुवाउँथ्यो । पाठापाठीहरू पनि उसलाई पछ्याउँथे । ऊ सबैलाई सम्झाउँदै भन्थ्यो, “निर्दोष चराचुरुङ्गी मार्नु हुँदैन, संरक्षण गर्नु पर्छ । चराचुरुङ्गी प्रकृतिका अनुपम उपहार हुन् ।”
त्यसबेलासम्म गाउँमा सडक र बिजुली थिएन । एक वर्षपछि गाउँमा सडक पुग्यो । यातायातका साधनहरू ओहोरदोहोर गर्न थाले । त्यही वर्ष बिजुली पनि आयो । गाउँलेहरू चौतारामा भेला भएर गफ गर्न थाले,“हाम्रो गाउँलाई सडकले सुगम बनायो । अब गाउँको तीव्र विकास हुन्छ ।”
“आहा ! अब त टिभी हेर्न पाइने भयो, मोबाइल चलाउन पाइने भयो !” उसभित्र उत्साह र जिज्ञासा एकसाथ प्रकट भयो ।
नभन्दै मामा वीरमानले उसलाई राम्रो मोबाइल ल्याइदिनुभयो । केही दिनपछि त्यस घरमा टेलिभिजन पनि भित्रियो । आमाबुबा र बहिनी टेलिभिजनमा रमाउन थाले । रहरमान भने मोबाइलसँगै भुलिन थाल्यो ।
“म त मोबाइलका अनेक गेम खेल्छु । नयाँ नयाँ एप्स चलाउन सिक्छु । तिमीहरूसँग म खेल्न आउँदिनँ ।” ऊ बिस्तारै साथीसङ्गीबाट टाढा रहन थाल्यो । गेम, फिल्म, गीतसङ्गीत, फेसबुक आदिलाई आफ्नो खेल्ने साथी
बनायो । भाइबहिनीहरूलाई छेउ आउन पनि नदिने, आइहाले हकारेर पर पर भगाउने गर्न थाल्यो । सिर्कुनाले सोठ्याएकाले पाठापाठीहरू रहरमानछेउ हरियो घाँस खान पनि आउन छाडे ।
नमस्कार गर्ने र काम सघाउने कुरा त परै रह्यो, भेटघाट भलाकुसारी गर्ने फुर्सदसमेत अब रहरमानलाई छैन । घरमा बाआमालाई पनि काम सघाउँदैन । ऊ मोबाइलको लतमा यति डुब्यो कि उसलाई स्कुलमा बाहेक घरमा पुस्तक छुनसमेत समय छैन । सधैं पहिलो हुने रहरमान चार कक्षाको वार्षिक परीक्षामा मुस्किलले मात्र उत्तीर्ण भयो र पाँच कक्षामा पुग्यो ।
रहरमानको पछिल्लो अवस्था देखेर शिक्षकहरू चिन्तित हुनु स्वभाविक थियो । “किन रहरमानको पढाइ बिग्रियो?” शिक्षकहरूबिचको परामर्शपछि योगेश सरलाई उससित कुरा गर्ने जिम्मा दिइयो ।
योगेश सरले उसलाई एकान्तमा बोलाएर सोध्नुभयो, “रहरमान, तिमीलाई के भयो ? सधैं सर्वोत्कृष्ट हुने तिमी मुस्किलैले मात्र उत्तीर्ण भयौँ । तिम्रो मिहिनेत, लगनशीलता, अनुशासन, आज्ञाकारिता र राम्रो पढाइले गर्दा तिमीबाट हामी शिक्षक, अभिभावक र गाँउलेहरूले धेरै आशा गरेका थियौँ । अझै समय छ, लत्ता नछाड ।”
योगेश सर बोलिरहेका बेला रहरमानको खल्तीमा मोबाइलको घन्टी बज्यो ।
“रहरमान ..”
“हजुर, सर”
“तिम्रो समस्या मैले बुझेँ । तिमी बिग्रिनु र सप्रिनु अरूको होइन तिम्रो आफ्नै हातमा छ ।”
“त्यो कसरी सर ? ”
“तिमी मोबाइलमा अलि बढी नै भुलिन थालेको जस्तो लाग्यो ।” योगेश सरको कुराले उसलाई के भनौँ, के भनौँ जस्तो भयो ।
“मानिसले पाएको समय पनि पैसाजस्तै हो, सीमित हुन्छ । नचाहिँदो खर्च गरिरह्यो भने छिट्टै सकिन्छ । पानी पनि चारैतिर नचाहिदो गरी छरेर फालियो भने सुकेर जान्छ, केही काम गर्दैन ।” योगेश सरका कुरा सुनी मात्र रह्यो, रहरमानले कनै प्रतिक्रिया दिएन ।
“बाबु रहरमान ! समयको दुरुपयोग हुँदा तिम्रो पढाइ र बानीबेहोरा बिग्रियो । असल मानिसले जीवनमा गल्ती नै गर्दैन भन्ने होइन तर गल्ती उसले दोहोर्याउँदैन । हरेक वस्तुहरूको सकारात्मक र नकारात्मक गुणहरू हुन्छन् । मोबाइल पनि त्यस्तै हो ।” बरु ढुङ्गो बोल्ला तर रहरमान केही बोलेन ।
“मोबाइल यो युगको महान् आविष्कार हो । एउटै मोबाइलमा क्यामेरा, टेलिफोन, रेडियो, घडी, टेपरिकर्डर,क्यालकुलेटर, टेलिभिजन आदि अनेकौँ छन् । चाहेको, खोजेको सबै चिज छ । यति हुँदाहुँदै पनि यसलाई सदुपयोग गर्न जानिएन भने हानि पनि गर्न सक्छ । कक्षामा प्रथम भइरहने तिमी मोबाइल लतमा एकोहोरो हुँदा तिम्रो सबथोक बिग्रियो । समयको व्यवस्थापन जीवनको व्यवस्थापन हो । समयको व्यवस्थापन गरेर फेरि तिमी गन्तव्यमा पुग्न सक्ने छौ । कति समय पढाइलाई ? कति मोबाइललाई ? कति खेललाई ? कति के केलाई ? समयको व्यवस्थापन तिम्रै हातमा छ । समयको व्यवस्थापन गरेर समयको सदुपयोग गर्ने छौ र हामी सबैको तिमीमाथिको आशालाई निभ्न दिने छैनौ । प्यारो रहरमान, शुभेच्छा !”
सरको कुराले मोबाइलको लतमा पर्नुभन्दा अगाडि र लतमा परिसकेपछिका एक एक घटना रहरमानले सम्झियो। उसलाई आफूले गल्ती गरेको जस्तो लाग्यो । उसले अठोट गर्यो, “आजैदेखि म मोबाइलको लतमा पर्दिनँ ।
म समयलाई दुरुपयोग गर्दिनँ ।” एक्कासि उसको अन्तरमनभित्र झलमल्ल उज्यालो पोखियो ।
समय व्यवस्थापनले रहरमान पाँच कक्षाको परीक्षामा पहिलो बन्न सफल हुन्छ । सबैका आँखामा ऊ फेरि आशा र प्रेरणाको बिन्दु बन्छ ।

Comments
Post a Comment